महरालाई सर्वसाधारण सरह कारवाही नभए ७७ वटै जिल्लामा सडक संघर्ष गर्ने महिला संघको चेतावनी

असोज १४ ।
नेपाल महिला संघ केन्द्रीय समितिले प्रतिनिधि सभाका सभामुख कृष्णवहादुर महरालाई जनता सरह कारबाही हुनु पर्ने बताएको छ । आज (मंगलबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत महिला संघले महराले पदवाट राजिनामा दिए पनि जनता सरह कारवाही गर्नुपर्ने जनाएको हो ।पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष उमा रेग्मीले महराले पदवाट राजिनामा दिएर मात्र उन्मुक्ती पाउन नहुने बताईन् ।

पत्रकार सम्मेलनमा उनले भनिन् “महराजीले रजिनामा दिएर मात्र उन्मुक्ती पाउनु हुन्न, सर्वसाधारण नागरिक सरह कारवाही हुनु पर्छ ।” पदीय मर्यादाको दुरुपयोग गर्दै रक्षक नै भक्षक भएको उनको आरोप थियो । पत्रकार सम्मेलनमा रेग्मीले पिडित महिलाले आँफुलाई घटना भएकै दिन १२ गते राति ११ः३० वजे रुदै फोन गरेर आफु माथि करणी भएको बारेमा जानकारी गराएको बताईन् ।

पिडित महिला संग भएको कुराकानीका केहि अंश सुनाउँदै उनले भनिन् “श्रीमान नभएको समयमा नआउनु भन्दा भन्दै काम छ भनेर महराजी जानु भएको रहेछ ।”पिडित महिलाले सभामुख महरावाट आँफु वलत्कृत भएको भन्दै फोन गरेको रेग्मीको भनाई थियो । त्यस लगत्तै आँफुले पार्टीका साथीहरुलाई बुझ्न लगाएको उनले बताईन् । महरालाई सर्वसाधारण नागरिक सरह कारवाही नभए महिला संघले ७७ वटै जिल्लामा सडक संघर्ष गर्ने रेग्मीले चेतावनी दिईन् ।

लोकतान्त्रीक राज्यमा अन्याय र अत्याचारको अन्त्य हुनु पर्ने उनको माग थियो । नारिहरुलाई अहिलेको समाजमा पनि खेलौनाको रुपमा हेर्ने परम्पराको अन्त्य हुनु पर्ने रेग्मीले बताईन् । महिलाको अस्मिता वचाउनका लागि संघ सधै अग्र स्थानमा रहेको उनले जानकारी दिईन् । अहिले सम्म भएका यस्ता घटनाका दोशिलाई राज्यले उन्मुक्ति दिदै आएको उनको आरोप थियो । लोकतन्त्रको नाममा महिलाको आहुती मात्रै दिनु पर्छ भन्ने नभएको भन्दै उनले सत्यतथ्य छानविन गर्न सरकार संग माग गरिन् । सरकार प्रति जनताको विश्वास रहने गरि काम गर्नु पर्ने उनएको भनाई थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस