मकवानपुरमा भारतीय गाडीलाई खोलाले बगायो,चालक र सहचालक सकुशल

मकवानपुर, साउन ८ ।
मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौंडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौंडा आवतजावत बन्द भएको छ । त्यस्तै हेटौंडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ । शिवम् सिमेन्टको कच्चा पदार्थ र्पुयाएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो । गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए । पहिरोका कारण १० दिन अवरुद्ध भएर भर्खरै सञ्चालनमा आएको हेटौंडा–फाखेल–काठमाडौं सडकखण्ड भने अहिलेसम्म सञ्चालनमै रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस