स्थगित प्रतिनिधिसभाको बैठक दश दिनपछि आज बस्दै

काठमाण्डौं,साउन, ८ ।
बाढी, पहिरो र डुबानबारे छलफल गर्दा कस्ले पहिला बोल्ने भन्ने निहुँमा स्थगित भएको प्रतिनिधिसभाको बैठक दश दिनपछि आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको संभावित कार्यसूची हिजोनै तयार गर्नुपर्ने भए पनि दलहरुबीचको विवादका कारण आज बिहानसम्म तयार भएको छैन । बैठक चलाउनका लागि सभामुख कृष्णबहादुर महराले हिजो सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा दलहरुसँग छलफल गरे पनि सहमति नजुटेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । विपक्षी कांग्रेस राजपाले स्थगन प्रस्तावमाथि छलफल हुनुपर्ने अडान यथावत राखेका थिए । विपक्षीको प्रस्ताव सत्ता पक्षले अस्वीकार गरेकाले सहमति जुट्न नसकेको हो । दलहरुबीच सहमति हुन नसकेपछि सभामुख कृष्णबहादुर महराले विपक्षी दलले दर्ता गरेको स्थगन प्रस्ताव फिर्ता लिने र सत्ता पक्षको समेत सहभागीतामा साझा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेर छलफल गर्ने प्रस्ताव अघि सारेका छन् । सभामुखको प्रस्तावमा सत्ता पक्ष सहमत भए पनि विपक्षी दलले भने सहमति जनाइ नसकेकाले आज बिहान ११ बजे फेरि दलका नेतासहितको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । आफ्नो प्रस्तावलाई विपक्षी तत्काल अस्वीकार गरे पनि आजको बैठकमा सहमति जुट्ने विश्वास सभामुख महराले व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस